• भारतमा कोरोना भाइरसको नयाँ संक्रमण र संक्रमितको मृत्यु दरले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ४५ हजार संक्रमित थपिएका छन् । सोही अवधिमा २ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।

    भारतमा अहिलेसम्म संक्रमणबाट १ करोड ६६ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ । त्यसैगरी भारतमा यो संक्रमणबाट एक लाख ८९ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । उक्त समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

    कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् ।

4565