• चिकित्सकले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको केही दिन भित्रै मृत्यु हुनसक्ने बताएका छन् । नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरुले उपयुक्त स्वास्थ्य उपचार नपाए जेलमा रहेका नाभाल्नीको केही दिन भित्रै मृत्यु हुनसक्ने बताएका हुन् ।

    पछिल्लो पटक गरिएको रगत परीक्षणको नतिजाले कुनै पनि बेला नाभाल्नीको कार्डिक अरेस्ट वा किड्नी फेलियर हुन सक्ने देखिएको चिकित्सकको भनाइ छ । नाभाल्नीलाई गएको फेब्रु्अरीमा जेल सजाय भएको थियो । उनी १८ दिनदेखि भोकहड्तालमा छन् ।

    नाभाल्नीका व्यक्तिगत चिकित्सक एनास्टासिया भासिलिभासहित चार चिकित्सकले जेल पदाधिकारीलाई पत्र लेखेर तत्काल आफूहरुलाई भेटका लागि अनुमति प्रदान गर्न माग गरेका छन् । जेल पदाधिकारीलाई लेखेको पत्र भासिलिभाले ट्वीटरमा पोष्ट गरेकी छन् । चिकित्सकले आफूहरुलाई नाभाल्नीको तत्काल स्वास्थ्य जाँच गर्नका लागि स्वीकृति प्रदान गर्न माग गरेका हुन् ।

    ४४ वर्षीय नाभाल्नीमाथि गएको अगस्टमा विष आक्रमण भएको थियो । उनी जर्मनीमा उपचार गराएर पाँच महिनापछि रुस फर्किएका थिए । उनलाई रुस फर्किए लगत्तै विमानस्थलबाट पक्राउ गरिएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने नाभाल्नीको हत्या प्रयास सत्ता पक्षबाटै भएको आरोप लाग्दै आएपनि रुसले भने सो आरोप अस्वीकार गर्दै आएको छ ।

4565