• विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमती प्रदेशलाई २ रनले हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो । रोमान्चक बनेको खेलमा पुलिसले दिएको ७३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभर २ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रन बनाएको थियो । जितसँगै पुलिसले पहिलो खेलमा २ अंक जोडेको छ । बागमती प्रदेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

    यस्तै प्रतियोगिता अन्तर्गत शनिबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ३६ रनको लक्ष्य एपीएफले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो ।

    प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार पाउने छन् ।

4565