-
वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाण्डौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गर्नुभएको हो । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिना पछि विभागिय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाईएको बताउनुभएको हो । गत माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठव्यवसायी र बनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर आफुले कसैलाई पनि भेट नगरि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “जुन दिन मैले पदको वहाली गरेँ, त्यही दिन देखी काठव्यवसायीदेखी, वनका केही बद्मास कर्मचारीदेखी साराले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन। कसैलाई पनि भेट्दिनँ भनेँ । मैले कसैलाई भेट्दा पनि भेटिनँ । पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी १ अर्ब पैसा उठाएर दिन्छौ भन्ने कुरा पनि आयो । अनि मैले भनेँ १ अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले ? हुदैन भनेर मैले इन्कार गरेँ ।”
उहाँले बैज्ञानिक बन कार्यक्रमका नाममा मुलुकका विभिन्न स्थानमा बन फडानी गरेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नै बद्नाम पार्ने काम भएकाले प्रधानमन्त्रीले बैज्ञानिक बन कार्यक्रम खारेज गर्नका लागि प्रधानमन्त्रीले आफुलाई वन मन्त्रालयको जिम्मेवारी दिएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो “ सार्वजनिक लेखासमितिले निर्णय गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझायो । छानविन भईरह्यो तर वैज्ञानिक बन कार्यक्रम खारेज हुदैन । यही कारणले गर्दाखेरी सम्माननीय प्रधानमन्त्री ज्युले मलाई यो(मन्त्रीको) जिम्मेवारी सुम्पिनुभयो । छिटो बैज्ञानिक वन खारेज हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । ”
मन्त्री आलेले वैज्ञानिक बन कार्यक्रम खारेजका लागि वन मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग र साथ पाएको भन्दै मन्त्रालयका कर्मचारीहरुको प्रशंसा पनि गर्नुभयो ।उहाँले भन्नुभयो “आफू गतिलो भयो भने कसैले बिगार्न सक्तैन । हामीले र्याल चुहाउने पनि होइन । मन्त्रालय भित्र गर्नुपर्ने कामहरु अघि बढ्छन् । जनतालाई प्रत्यक्ष हानीहुने काम मन्त्रालयले गर्दैन । जनताको अहित हुने काम गर्न बाध्य पार्यो भने मन्त्रीको पद १ मिनेटमा रिजाईन गरेर पद् छोड्न म तयार छु ।”
मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक बन कार्यक्रमको बारेमा अध्ययन गर्दा पनि जिल्ला बन अधिकृत, क्षेत्रिय निर्देशक, काठव्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्रलोभन देखाएको बताउनुभयो । यद्यपि मुलुकका विभिन्न स्थानको अवलोकन गर्दा कैलाली कञ्चनपुर लगायत स्थानमा वैज्ञानिक वन कार्याक्रमका नाममा चुरेको दोहन भएको देखेपछि आफुहरुले सो कार्यक्रम नै खारेज गर्नुपर्ने र दोषीलाई कारवाही गर्न सिफारिस गरेको स्मरण गर्नुभयो ।उहाँले वन नियमावली बनाउँदा पनि सरोकारवालाहरुसंग परामर्श गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कुनै पनि किसिमका प्रलोभनमा नपरी देश र जनताको हितलाई मध्यनजर गरि काम गर्न पनि आग्रह गर्नुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





