• प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने र संविधान नमिच्ने बताएका हुन । सरकार जनताको अभिमतभन्दा विपरित नजाने र जान नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

    लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट हुन नहुने उनको भनाइ छ । शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न पक्षलाई संवादको माध्यमबाट आउन प्रधानमन्त्री ओलीले आह्वान गरे ।

    देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिए । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भ्रष्टाचार नगर्ने र सुशासन कायम गरेर छोड्ने दावी पनि गरे । उनले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताए ।

4565