• बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेको सिमरा रंगशालाको प्याराफिट निर्माण कार्य अलपत्र रहेको छ । राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको सिमरा रंगशालाको प्याराफिट निर्माण कार्य अलपत्र छाड्ने ठेकदारले भने भुक्तानी लिइसकेको छ ।

    बाराको सिमरास्थित रगंशालामा प्याराफिट निर्माणका लागि २०७२ सालमा ८२ लाखमा रिजन निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । यस कम्पनीले एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरेपनि काम रङ्गशालालाई अलपत्र पारिदिएको भएतापनि ठेक्काको कबोल बमोजिमको सबै रकम कम्पनीले भुक्तानी पाइसकेको जिल्ला फुटबल संघले जनाएको छ । सिमरा रंगशालामा निर्माणाधीन दुई वटा प्याराफिट अलपत्र अवस्थामा भएपछि अहिले सबैखाले प्रतियोगिता तथा खेलकुदको गतिविधि गर्न आयोजक संस्थाहरूलाई सकस भएको छ ।

    रगंशालाको प्याराफिट निर्माण काम अधुरै रहेको तथा सहमति अनुसार काम नभएको बारा जिल्ला फुटबल संघले जनाएको छ । समयमै प्याराफिट निर्माणको काम सम्पन्न नहुदाँ यो वर्ष पनि खेलकुद गतिविधि गर्न समेत समस्या देखिएको छ।

    निर्माणधीन २ वटा प्याराफिटमध्ये रिजन निर्माण सेवाले प्याराफिटमा रेलिङ र सेफ्टी लगायतका काम अलपत्र छोडेको छ भने अर्को ठेकदार कम्पनी सुमन निर्माण सेवाले ३५ देखि ४० प्रतिशत मात्रै काम गरेको छ । सुमन निर्माण सेवा कलैयाले १ करोड ७० लाख रुपैयाँमा लिएको ठेक्का ३६ प्रतिशत कममा सकारे पनि कोरोना महामारीका कारण खेलकुद परिषद्ले रकम फिर्ता लगेपछि प्याराफिट निर्माणको काम अलपत्र परेको जनाएको छ ।

    प्याराफिट निर्माण जिम्मा सकारेको रिजन निर्माण सेवाले रेलिङ, सेफ्टी र प्याराफिटको रंगरोगन लगायतको निमाण गरेर हस्तान्तरण गर्नुपने भएतापनि हाल सम्म रेलिङ, सेफ्टी निर्माणको कार्य हुन सकेको छैन । यस ठेकदार कम्पनीले प्याराफिट निर्माणको अन्तिम बिलको भुक्तानी गत आर्थिक वर्षमै लिइसकेको बताईएको छ । अर्को ठेक्का कम्पनी सुमन निर्माण सेवाले २०७७ जेठ मसान्त भित्रै सक्नुपर्ने भिआइपी प्याराफिट निर्माणको काम कोरोनाका कारण ढिलो भएको जनाएको छ । १४ बिगाहा क्षेत्रफलमा फैलिएको यो खेलकुद मैदान बारा जिल्लाको सबैभन्दा ठूलो खेलमैदान हो ।

4565