• नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका दोश्रो पुस्ताका नेताहरुले यसअघि नै दुईवटा पार्टी दर्ताका लागि प्रयास गरेको खुलाशा गरेका छन् । शनिबार ललितपुरमा पेशागत महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले दोस्रो पुस्ता भनिएकाहरुले कलम चिन्ह भएको नेकपा एकीकृत पार्टी र नेकपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलासा गरेका हुन् । केपी ओली प्रवृतिविरुद्ध कुनै नयाँ पार्टी गठन गरौं भन्दै दोश्रो पुस्ताका नेताहरुले दुई वटा पार्टी निर्वाचन आयोगमा दर्ता गरेको उनको भनाई छ । उनले यसअघि नयाँ पार्टी खोलौ भन्ने नेताहरुले नै आफुहरुको पार्टीको बिरोध गरेको आरोप लगाए ।

    अध्यक्ष नेपालले दोश्रो पुस्ता आफ्नो पार्टीमा आए आफु अध्यक्ष पद नै हस्तान्तरण गर्न तयार रहेको स्पष्ट पनि पारे । उनले बिचार मिल्ने शक्तिहरुसँग सहकार्य गरे पनि अहिले नै कुनै पार्टीसंग एकता नगर्ने बताए । एक फरक प्रसंगमा उनले अन्य धर्म लिएका व्यक्तिलाई पशुपति बिकास कोषको सदस्य सचिव बनाउन आफुले पहल गरेको भनेर गलत भ्रम फैलाएको उल्लेख पनि गरे ।

    अध्यक्ष नेपालले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म बलियो बनाउदै मुलुकको अग्रगमको पक्षमा काम गर्ने दाबी पनि गरे ।

4565