• प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण पनि सम्पन्न भएको छ । नेकपा एमाले विभाजन भएर माधव नेपालले नेकपा एकिकृत समाजवादी गठन गरेसंगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो ।

    आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए । आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले पदबाट राजीनामा दिई लचकता देखाएका हुन् । आचार्य यसअघि माधव नेपाल गुटमा थिए । नेपालले पार्टी फुटाएपछि उनको साथ छोड्नेहरूको समूहमा आचार्य पनि सहभागि थिए । अहिले यो समूह एमालेमै रहेको छ ।

    मुख्यमन्त्री नियुक्त भएका आचार्यले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चार जना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको दाबी गरेको छ । माधव नेपाल पक्षले बुधबार मात्रै निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ भने त्यसको असर प्रदेशमा पर्ने निश्चित छ ।

4565