• गुल्मीमा जीप दुर्घटनामा परि ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ । ज्यान गुमाउनेहरुमा चन्द्रकोट गाउँपालिका ४ का वर्ष ४३ का तेज बहादुर खत्री, सोही गाउँपालिका ५ वर्ष ३६ का रेशम कार्की र रेसुंगा नगरपालिका २ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनु भएको छ । उनीहरुको घटना स्थलमै ज्यान गएको हो ।

    दुर्घटनामा परि सात जना घाईते बनेका छन् । घाईते हुनेहरुमा चन्द्रकोट गाउँपालिका ६ की बिनिता परियार, ७ की मुना भण्डारी, ४ का गगन क्षेत्री, ५ का जीप चालक बमबहादुर बिक, ८ का शुसिल बिक, ७ का गोकुल भण्डारी र रेसुंगा नगरपालीका २ की रमिला भण्डारी रहेका छन् ।
    घाईतेहरु मध्य गोकुल, रमिला र मुनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेको छ भने अन्य चार जनालाई उपचारकालागि लुम्बिनि मेडिकल कलेज पाल्पामा लगिएको छ । घाईतेहरु मध्य पाल्पा लगिएका दुई जनाको अबस्था भने गंभिर रहेको प्रहरीले जनाएको छ ।

    बुधबार बिहान चन्द्रकोट गाउँपालिका ४ अन्र्तगत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप बुधबार बिहान ११ बजे मुसिकोट नगरपालिका ४ अन्र्तगत ईन्द्रेगौंडाको दोभान नजिकै दुर्घटना भएको थियो ।

    दुर्घटनामा परेकाहरुलाई स्थानीय र सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए । ‘जिल्ला प्रशासन कार्यालयमा कामका लागि बिहान रुपाकोटबाट जीपमा चढेर आउँदै थिए, त्यहाँ नजिकै आउँदै गर्दा सडक कुनामा थोरै पहिरो खसेको थियो, तर बाटो पनि सजिलै थियो, अचानक कसरी दुर्घटना भयो थाहै भएन,’ दुर्घटनाका घाईते गोकुल भण्डारीले सुनाए ।

    दुर्घटना भएको जानकारी पाए लगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, ससस्त्र र नेपाली सेनाको टोली घटना स्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको उक्त जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

4565