• जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उदघाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने भएका छन । शुक्रबार हुने उदघाटन समारोहमा ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने भएका हुन । प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको जापानको दाबी छ ।

    शीर्ष नेताहरुको उपस्थीतिलाई जापानले महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग गर्ने जनाएको छ । महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकको भनाइ छ । अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको हो ।

    शुक्रबारवाट सुरु हुने प्रतियोगिता अगस्ट आठमा सकिनेछ । ओलम्पिकमा सहभागी हुन संसारभरका खेलाडी तथा खेल पदाधिकारीहरु अहिले टोकियो पुगिसकेका छन । टोकियो ओलम्पिकका प्रमुख तोशिरो मुटोले आयोजकले शत प्रतिशत खेल सफल गराउनेतर्फ ध्यान दिइरहेको बताएका छन । खेल सुरुहुनुअघि ओलम्पिक भिलेजका ७० भन्दा धेरै व्यक्तिमा कोभिड संक्रमण पुष्टि भैसकेको छ । खेल विनादर्शक खेलाइने आयोजक समितिले बताउँदै आएको छ । ओलम्पिक गर्ने भएपछि जापानको टोकियोमा संकटकाल लगाइएको छ ।

4565