• सरकारलाई पूर्णता दिने र सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुले छलफललाई तीब्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा आजै दुईपटक भेटवार्ता भयो ।

    बिहान प्रधानमन्त्री निवास पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न प्रधानमन्त्री देउवा दिउसो दाहाल निवास खुमलटार पुगे । यस्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहान एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री माधव नेपालसंग छलफल गरे । सत्तारुढ गठवन्धनको अर्को दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि वरिष्ठ नेता नेपालसँग भेटवार्ता गरेका छन् ।

    शीर्ष नेताहरुका बीचमा गठवन्धन सरकारको साझा कार्यक्रम र मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा गठबन्धनका शीर्ष नेताहरुबीच संविधान विपरित अध्यादेशमार्फत गरिएका नियुक्तिहरुले दीर्घकालिन असर पु¥याउने भन्दै त्यसलाई खारेज गर्ने सहमति भएको बताइएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ११ मुलुकका लागि गरिएका राजदूतहरुको सिफारिस खारेज गरिसकेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनिक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्र्रका अध्यक्ष दाहालका बीचमा सरकारमा विभिन्न दलको सहभागिता र मन्त्रालय बाँडफाँडलगायत विषय पनि छलफल भएको छ ।

4565