• आगामी भदौ १३ देखि २० गतेसम्म फिलिपिन्समा हुने महिला एसियन भलिबल च्याम्पियनसीपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले भाग लिन नपाउने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकामा नेपाललाई समावेश गरिएको छैन ।

    कोरोना महामारीको अति जोखिममा रहेको भन्दै नेपाललगायतका केही देशलाई प्रतियोगितामा समावेश नगरिएको हो । भारत, जापान र हङकङ पनि प्रतियोगितामा सहभागि हुन नपाउने भएका छन् । सुरुवातमा १७ टोली सहभागी हुने भनिएको च्याम्पियनसीपमा ५ टोलीले नाम फिर्ता लिएसँगै १२ टोलीले सहभागिता जनाउने पक्का भएको थियो ।

    शुक्रबार एभीसीले सार्वजानिक गरेको तालिका अनुसार त्यसमा पनि ४ टोली घटाएर ८ वटामा सिमित गरिएको छ । सार्वजनिक खेल तालिकाको समूह ‘ए’ मा आयोजक फिलिपिन्स, काजकस्तान, उज्वेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् । कोरोना महामारीलाई कारण देखाउँदै चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्याण्डले नाम फिर्ता लिएका थिए । महामारी कै कारण चीनले खेल आयोजना गर्न नसक्ने भनेपछि प्रतियोगिता फिलिपिन्स हुन लागेको हो ।

4565