• एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको छ । शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा बसेको बैठकले सहमति स्वीकार्दै कार्यदल विघटन गरेको हो ।

    त्यस्तै बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर पनि गरेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए ।

    ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको पक्षमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए । बैठकमा नेपाल समूह भने सहभागी भएन । बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव नेपाल समूहका नेताहरूले स्थायी कमिटी र संसदीय दलको बैठक रोक्न गरेको आग्रह ओलीले अस्वीकार गरेका थिए ।

    सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गर्न भीम रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे बैठकस्थल पुगेका थिए ।।

4565