• देशको शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) १५ अर्ब भन्दा बढीले घाटामा देखिएको छ । यस्तै चालु खाता घाटा पनि बढेर झण्डै ३ खर्ब पुगेको छ । बिहीबार प्रकाशित राष्ट्र बैंकको तथ्याङ्क अनुसार बढ्दो व्यापार घाटाले शोधनान्तर स्थिति र चालु खातालाई दवावमा पारेको देखिन्छ ।

    नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिको विवरण अनुसार जेठ मसान्त सम्ममा १५ अर्ब १५ करोडले शोधनान्तर स्थिति घाटामा छ । यो घाटा दुई वर्ष यताकै पहिलो हो । दुई वर्ष अघि शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ र एक वर्ष अघि १ खर्ब ७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।

    शोधनान्तर स्थितिले एक देश र अन्य देशबीच हुने वित्तीय लेनदेनको अवस्थालाई जनाउँछ । यसले बस्तु तथा सेवाको आयात निर्यात, वित्तीय पूँजी, वित्तीय हस्तान्तरण लगायतका सूचकहरुलाई समावेस गर्छ । देशबाट बाहिरिने पैसाको तुलनामा भित्रिने पैसा बढी भएमा शोधनान्तर बचत हुन्छ भने बाहिरीने पैसा बढी भएमा शोधनान्तर घाटा हुन्छ । यस्तै चालु आर्थिक वर्षको एघार महिनामा कुल वस्तु व्यापार घाटा २४ दशमलव ६ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ ।

    यो अवधिमा रेमिट्यान्स आम्दानीेमा भने सुधार आएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तलुनामा जेठ मसान्त सम्म १२ दशमलव ६ प्रतिशतले रेमिट्यान्स आम्दानी बढेर ८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ । तर उच्च दरको आयातको तुलनामा निर्यात कम हुनु र रेमिट्यान्स आम्दानीले समेत थेग्न नसक्दा समग्रमा शोधनान्तर स्थिति घाटामा देखिएको हो ।

    चालु खाता घाटा पनि निरन्तर बढ्दो छ । गत वर्ष ६२ अर्ब ५९ करोडले घाटामा रहेको चालु खाता यस वर्षको जेठ मसान्तमा बढेर २ खर्ब ९३ अर्ब ९७ करोड पुगेको छ । देश भित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तरलाई चालु खाताले खेदाउँछ । देशभित्र भित्रिने विदेशी मुद्रा बढी भए चालु खाता बचतमा हुन्छ भने बाहिरिने बढी भए घाटा हुन्छ । यसरी हेर्दा अहिले देशमा चालु खाता घाटाको स्थिति गम्भिर देखिएको छ । चालु खाता घाटा बढ्नजाँदा विदेशी मुद्राको सञ्चितिमा दवाव पर्छ ।

    त्यसैले गत आर्थिक वर्षको अन्त्यमा भन्दा अहिले कुल विदेशी विनिमय सञ्चितिमा पनि गिरावट आएको छ । २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड विदेशी मुद्रा सञ्चिति रहेकोमा यस वर्षको जेठ मसान्त सम्म २ दशमलव ६ प्रतिशतले कमी आई १३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ । शोधनान्तर स्थिति र चालु खातामा देखिएको यस्तो अवस्थाले देश आर्थिक चरममा फस्दै गएको स्पष्ट हुन्छ । यसले भर्खरै बनेको नयाँ सरकारका लागि पनि बाह्य क्षेत्रमा सबैभन्दा धेरै चुनौति रहेको स्पष्ट हुन्छ ।

4565