• नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले मुलुकलाई संकटमा धकेल्न खोजेको आरोप लगाएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा उनले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने काम प्रधानमन्त्रीले गरेको र यसले मुलुकलाई संकटमा धकेल्ने काम भएको बताए । उनले बहुमत सांसदहरुको दावी राष्ट्रपतिबाट अस्वीकार गरेपछि पाँच दल अदालत जानुपरेको जिकिर गरे । प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरुद्ध आवश्यक परे जनपरिचालन गर्ने उनले बताए ।

    देउवाले सबै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहेको पनि बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन प्रधानमन्त्री ओलीका विरुद्ध संघर्षमा उत्रेको नभई अहिलेको लडाइ लोकतन्त्र बचाउने र नबचाउने बीचको भएको बताए । उनले राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको यो गठबन्धन लामो समयसम्म चल्ने दाबीसमेत गरे ।

    अध्यक्ष दाहालले देशभित्र विदेशी शक्तिको चलखेल हुन नपाओस् भनेर पाँच पूर्वप्रधानमन्त्रीले सामूहिक अपिल गरेको स्पष्ट पारे । त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको बताए । उनले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरे । गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उनको भनाई छ ।

    त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई समाप्त पारेर ओलीले निरंकुश सासन चलाउन चाहेको आरोप लगाए । अध्यादेशमार्फत शासन चलाउने, संवैधानिक अंगहरु तहसनहस पार्दै मुलुकलाई स्वेच्छाचारी र निरकुशतातिर लैजाने प्रयत्नमा लागेको उनको भनाइ छ ।यादवले लोकतन्त्र र संविधानको रक्षाका लागि बिपक्षी गठबन्धनले राजनीतिक र कानुनी रुपमा लडिरहेको र आगामी दिनमा समेत गठबन्धन मिलेरै अघि बढ्ने जिकिर गरे ।

4565