• अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा ठूलो क्षति भएको छ । मंगलबार साँझबाट आएको बाढीले मेलम्ची खानेपानी आयोजना स्थलसँगै सिन्धुपाल्चोकका तिम्बु, चनौटे, तालामाराङ, मेलम्ची बजारमा ठूलो धनजनको क्षति भएको छ ।

    मेलम्ची र सुनकोशीमा मंगलबार साँझबाट आएको बाढीमा परी ७ जनाले ज्यान गुमाएका छन् । बाढी र पहिरोमा बेपत्ता भएका हेलम्बु गाउँपालिका–२ का ३३ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्र्षीय समुन्द्र नेपालको शव फेला परेको प्रहरीले जनाएको छ । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    हेलम्बुमा घर, टहरा, फार्म, पुललगायत संरचना बाढीले बगाएको छ । चोक्पा पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुलसमेत बगाएको छ । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चार वटा पुल बाढीले बगाएको छ । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । बाढीले आठवटा ट्राउट माछा फर्म, आमाह्योल्मो बसपार्क, सिटी पार्क पनि क्षतविक्षत बनाएको छ । मेलम्ची बजार बगरमा परिणत भएको छ ।

    लेदोसहितको बाढी घरमा पसेपछि मेलम्ची बजार क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्दार र राहतका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयहरु जुटेका छन् ।

4565