• शुरुवाती चरणमा कोरोनाविरुद्धको खोपमा नागरिकको धेरै चासो थिएन । कोरोनाको दोस्रो लहरपछि खोप सबैका लागि अनिवार्य भएको छ । कोरोनाको उच्च जोखिम क्षेत्र बाँकेका जेष्ठ नागरिक भने खोपबाट बञ्चित छन् ।

    बाँकेका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको पहिलो खोप दिए पनि दोस्रो खोप पाउन सकेका छैनन् । करीब २५ हजार जेष्ठ नागरिक रहेको बाँकेमा २० हजार ७८९ जना जेष्ठ नागरिकलाई पहिलो डोज खोप दिइएको थियो । गत फागुन २३ देखि जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको थियो । जेष्ठ नागरिकलाई भारतबाट आएको कोभिसिल नामक खोप दिइएको भए पनि अहिले समयावधी सकिन लाग्दा दोस्रो डोज नपाएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

    बाँकेमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुले भने कोरोनाविरुद्धको खोप पाएका छन् । जिल्लामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, निजामती कर्मचारी, संचारकर्मीले दुबै डोज खोप लगाइसकेका छन् । ९ हजार ८३३ जनाले खोप लगाएका छन् । पछिल्लो समय कोरोनाको महामारी फैलिएपछि नागरिकमा खोपप्रतिको चासो बढेको हो । स्वास्थ्य कार्यालय, बाँकेमा खोप लगाउन पाउनु प¥यो भन्दै दैनिकजसो धेरै दबाब आउने गरेको छ स्वास्थ्य कार्यालयले जनाएको छ ।

    कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप एउटै कम्पनीको हुनु पर्ने भएपछि बाँकेमा पहिलो डोज लगाएका जेष्ठ नागरिक दोस्रो डोजका लागि आतुर छन् ।

4565