• प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाईसक्ने ढंगले सरकारले काम गरिरहेको बताउनुभएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आईतबार प्रेस चौतारी आवद्ध पत्रकारसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले चुनावी वातावरण विगार्नेहरुले खोप र सार्वभौमसत्ताको प्रयोगका बारेमा जनतामा भ्रम श्रृजना गर्ने काम गरेको टिप्पणी गर्नुभयो । यसलाई उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको नाम लिएर उनीहरुले चलाएको ‘सेन्टिमेण्टल ब्लाकमेलिङ’ भनी टिप्पणी गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले लोकतन्त्रलाई पराजित गर्न नसकेपछि प्रणाली भित्रै छिरेर लोकतन्त्रलाई हुडल्ने काम गरेको दाबी प्रधानमन्त्रीले गर्नुभयो ।

    उहाँले भन्नुभयो “सरकारले चुनाव भएपनि खोप ल्याउँछ । खोप लगाउँछ । चुनाव नभएपनि खोप ल्याउँछ । खोप लगाउँछ । आफ्नो सार्वभौमसत्ताको प्रयोग र खोप यसलाई संगै जोड्ै हुदैन । यो जनताको सेन्टिमेन्टसंग खेलवाड गरिएको कुरा हो । जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने कुरा अहिले वातावरण विगार्ने चुनाव हुनै हुदैन भन्ने, चुनावसंग तर्सिने आफ्नो हालत कमजोर भएका प्रचण्ड माधव नेपाल जस्ता हरुको खेती हो यो । चुनाव भयो भने बेहाल हुन्छ । बेहाल त हुन्छ हुन्छ । बामपन्थी भनेको छ । देशभक्त भनेको छ । लोकतान्त्रिक भनेको छ । लोकतन्त्रका विरुद्ध लड्यो लड्यो , लोकतन्त्रलाई पराजित गर्न नसकेपछि भित्रै छिरेर अनि भित्रैबाट हुडल्ने काम गर्ने अनि लोकतन्त्रका नारा दिने ? ”

    उहाँले नेपाली जनताले राष्ट्रपति कार्यालयमा भएको अनुशासनहिन, अराजकता र मर्यादाहिन क्रियाकलापमा संलग्न, दलिय प्रणालीलाई उलंघन गर्ने र अरु पार्टीमा विग्रह पैदा गरेर आफ्नो दुनो सोच्याउन खोज्ने अस्वस्थ्य प्रवृत्ति र तीनका अगुवाको मुल्यांकन गरिरहेको बताउनुभयो । उहाँले आफ्नो सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नुपर्ने बेलामा सेन्टिमेन्टमा ल्याएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बञ्चित गराउने काम गर्नु ‘सेन्टिमेन्टल ब्लाकमेलिङ’ भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “जनताको भावनासंगको खेलवाड हो । सेन्टिमेण्टल ब्लयाकमेलिङ हो यो । जुन चलाईराख्न खोजिएको छ । जनतालाई यसरी दिग्भ्रमित गर्न खोजिएको छ । सार्वभौमसत्ताको प्रयोग र जनताको उपचार पाउने हक बेग्लाबेग्लै कुरा हो । जनताको उपचार पाउने हकलाई सम्मान गर्न सरकार लागिपरेको छ दिनरात । त्यसका लागि भोट वा मताधिकार जनताले केही कुराका लागि पनि साट्तैनन् । कुनै कुरा संग पनि । तर यहाँ सेन्टिमेण्टल व्लयाकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि ब्लाकमेलरहरु छन् । दुषित उद्देश्यका ब्लाकमेलरहरु । ”
    चुनाव अगाडि नै जनतालाई खोप लगाईसक्ने ढंगले मित्रराष्ट्र तथा खोप उत्पादकहरुसंग सरकारले कुरा गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले सही सत्य कुराको जानकारी गराएर भ्रम छर्नेहरुबाट जनतालाई जोगाउन सञ्चारजगतसंग आग्रह पनि गर्नुभयो ।

    उहाँले भन्नुभयो “हामी चुनाव भन्दा अगाडि नै सबै जनतालाई खोप लगाईसक्ने प्रयासमा जुटेका छौ । विभिन्न मित्र राष्ट्रहरुसंग, खोप उत्पादकहरुसंग हामी डिल गरिरहेका छौ । अन्तराष्ट्रिय संघ संस्थाहरुसंग कुराकानी गरिरहेका छौ गम्भीरताका साथ । र जनतालाई यस्तो खालको सेन्टीमेण्टल व्लाकमेलिङ गर्ने खालको कुराबाट संञ्चारजगतले जनतालाई जोगाउनुपर्छ म साथीहरुलाई आग्रह गर्छु । ”

4565