• नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ जना र एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४ लाख ५५ हजार २० पुगेको छ । काठमाडौँ उपत्यकामा २ हजार ६ सय ९ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ सय ४५ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ । पछिल्लो समय कोरोना संक्रमण निको हुने दर बढ्दै गएको छ भने संक्रमण र मृत्युदर घटेको छ । पछिल्लो चौबीस घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ । देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ रहेको छ । यीमध्ये १ हजार ३ सय १३ जनाको आईसीयू र ३ सय ८० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

4565