• प्रधानमन्त्री केपी ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसीको आईतबार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनैपनि नागरिकको ज्यान जाने अवस्था श्रृजना हुन नदिन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले झन्झटिला प्रक्रिया छोट्याएर कानुनी प्रक्रिया मिलाएर भएपनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    सीसीएमसीको बैठकले देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय गरेको हो । बैठकले कोरोना महामारीको बेला हाल रहेको कानूनी जटिलतासमेत फुकाएर रोकथामका लागि राज्यको सबै शक्ति परिचालन गर्ने निर्णय समेत गरेको छ । बैठकले खोपको तत्काल आपूर्तिको गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने, उद्योगलाई बिजुली महसुल लगायतमा सहुलियत दिने र लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै बैठकले महामारीविरुद्ध लड्न थप कानूनी संरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

4565