• केपी ओलीले प्रधानमन्त्रीका रुपमा तेस्रो पटक सपथ लिएका छन् । तेस्रो पटक ओलीले दुई तिहाईको प्रधानमन्त्रीका रुपमा संसदको विश्वास गुमाएर अल्पमतको प्रधानमन्त्रीका रुपमा सपथ लिए । संसदको ठूलो दलका रुपमा प्रधानमन्त्री बनेका ओलीले एक महिना भित्र बैशाख २७ गते विश्वासको मत नदिएको संसदबाट विश्वासको मत लिनुपर्नेछ ।

    २०७४ सालमा भएको आम निर्वाचनमा ओलीले माओवादीसंग गठबन्धन गरेर झण्डै दुईतिहाईको प्रधानमन्त्रीका रुपमा २०७४ साल फागुन ३ गते सपथ लिएका थिए । प्रधानमन्त्री भएका ओलीले चार वर्ष दुई महिनापछि फेरि त्यही संसद कायम रहेको अवस्थामा अल्पमतको प्रधानमन्त्रीका रुपमा शुक्रवार सपथ लिएका छन् । पहिलो पटक माओवादीको सहयोगमा प्रधानमन्त्री बनेका ओली दोश्रो पटक झण्डै दुईतिहाईको प्रधानमन्त्री बनेका थिए, माओवादीसंग पार्टी एकिकरण गरेर ।


    दुईतिहाईको प्रधानमन्त्रीबाट अल्पमतको प्रधानमन्त्री बन्नुले ओलीमा कुशल शासकिय क्षामता नभएको प्रमाणीत भइसकेको छ । ओली संवैधानिक रुपमा प्रधानमन्त्री बने, संविधानले उनलाई अल्पमतको प्रधानमन्त्री बन्न रोक्दैन् । तर दुईतिहाई गुमाएर अल्पमतको प्रधानमन्त्री बन्नु नैतिकता होइन, त्यो पनि त्यही संसद कायम रहेको अवस्थामा । यसले उनको राजनीति राजनीतिक चरित्र र नैतिकतामाथि प्रश्न उठेको छ । अझ कोरोनाको दोश्रो लहर भयावह भएको अवस्थामा आम नागरिक घरमा थुनिएर बसेका बेलामा प्रधानमन्त्री बन्नका लागि राजनीतिकमा देखिएका दृश्यले नेताहरु हैन नागरिकहरु लज्जित बनेका छन् ।

    दुई शक्तिशाली कम्युनिस्ट पार्टी एमाले–माओवादी केन्द्रको गठबन्धनसँगै सधैँभरिको अस्थिर र विग्रहपूर्ण राजनीति अन्त्य भएको नागरिकले महसुश गरेका थिए । नगरिकले राजनीति स्थीरताका लागि दुई वटा कम्युनिष्ट पार्टीको गठबन्धनलाई मत दिएका हुन् । यसरी हेर्दा ओलीले नागरिकले दिएको मतको दुरुपयोग पनि गरेका छन, दुईतिहाईको प्रधानमन्त्रीबाट विश्वास गुमाएर अल्पमतको प्रधानमन्त्री बन्दा ।
    मुलुकमा एकातिर कोरानाको कहर थियो, अर्कातिर कम्युनिष्ट पार्टीको कलह कोरोना कालभरि देखियो । यो अवस्थाको मुख्य दोषि पनि ओली नै हुन् भन्ने धेरैको तर्क छ । दोषी अरु नेताहरुमा पनि होलान् । जनताले विश्वास गरेको एकिकृत कम्युनिष्ट पार्टीको अध्यक्ष र मुलुकको प्रधानमन्त्री भएका नाताले सवैभन्दा बढि दोषि ओली नै हुन् ।

    कम्युनिष्ट पार्टीमा देखिएको विग्रहका कारण नै संसदमा ओलीले दुईतिहाई गुमाएका हुन् । अझ आफ्नै पार्टी एमालेका माधव नेपाल पक्षलाई पनि विश्वासमा लिन नसक्दा संसदको साधारण विश्वास गुमाएर अल्पमतको प्रधानमन्त्री बन्ने अवस्थामा आए । यी सवैको पहिलो जड भनेको ओलीको अहंमता हो भन्ने नागरिकको बुझाई छ । त्यही अहमताका कारण ओलीले आफुलाई कहिल्यै असहयोग नगरेको संसदलाई विघटन गरिदिए । त्यहीबाट ओलीका विरुद्धमा आम मत एकै ठाँउमा आयो ।

4565