• सरकार बनाउनका लागि बहुमत जुटाउन असफल भएको विपक्षी गठबन्धनका नेताहरु मुलुकको राजनीति थप गिजोलिएको निष्कर्ष निकालेका छन् । विपक्षमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र समुहका नेताहरुले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निर्वाचनको बाटोमा लैजाने तयारी गरेको बताएका छन् ।

    काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलका शीर्ष नेताहरुको बैठकपछि संसद भवन बानेश्वरमा कोरोनाका विरुद्धको खोप लगाउन पुगेका विपक्षी गठबन्धनका नेताहरुले मुलुकको राजनीति सहि बाटोमा नलागेको बताए । संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली निर्वाचनको बाटोमा अघि बढेको टिप्पणी गरे ।

    अध्यक्ष दाहालले नेकपा एमालेको माधव नेपाल समुहलाई चिढाउन चाहेनन् । उनले नेपाल समुहसँग सहकार्य हुने सम्भावना कायम रहेको बताए ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरे । उनले प्रतिनिधिसभाको विश्वास गुमाएका प्रधानमन्त्री केपी ओली नै पुनः प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौ संशय उब्जाएको बताए ।

    ओलीले मुलुकलाई चुनावको बाटोमा लैजाने लागेको संकेत गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले पनि संसदलाई फाल्ने प्रयत्न अझै पनि जारी रहेको बताए ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिए । पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिए ।

    अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र माथि ग्रहण लाग्ने र धरापमा पर्ने काम सुरु हुन लागेको बताए । उनले लोकतान्त्रिक गणतन्त्र मास्नका लागि प्रधानमन्त्री ओलीले मुलुकलाई निर्वाचनको बाटोमा लैजान लागेको बताए ।

4565