• नेपालमा एकै दिन अहिलेसम्मकै उच्च ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १ सय ४७ वटा परीक्षण गर्दा ७ हजार १ सय ३४ जना र एन्टिजेन विधिबाट ६ सय ३२ वटा परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र तीन हजार ५ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ७ सय ४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाले ज्यान गुमाएका छन् ।

    योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ सय २५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६१२ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म २ लाख ८३ हजार ९ सय ९४ जना संक्रमित निको भएका छन् । सक्रिय संक्रमितमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसन र ४५ हजार १८१ जना होम आइसोलेसनमा छन् । यस्तै आईसीयूमा ४७७ जना र भेन्टिलेटरमा १३१ जनाको उपचार भइरहेको छ ।

4565