• काठमाडौं उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा बिहीबार(आज) देखि निषेधाज्ञा जारी भएको छ ।वैशाख १३ गते काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेको भन्दै संक्रमणबाट जोगाउनको निम्ति एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारीहरुको उक्त निर्णयलाई अनुमोदन गर्दै मन्त्रीपरिषद्को बैठकले पनि काठमाडौं उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । यससँगै बिहीबार बिहानैदेखि उपत्यकाको सडक सुनसान बनेको छ भने पैदल यात्रुहरुको आवत् जावत् समेत कम भएको छ ।

    बिहीबारबाट निषेधाज्ञा जारी हुने भएपछि बुधबार बेलुकासम्ममा लाखौँ मानिसहरुले काठमाडौं उपत्यका छोडेका छन् ।निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय संग्राहालय, चिडियाखाना आदि सञ्चालन गर्न बन्देज गरिएको छ । विवाह, व्रतबन्धमा भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जना सहभागि हुने गरि र स्वास्थ्यको. मापदण्ड पालना गर्ने गरि आयोजना गर्न दिने ब्यबस्था मिलाइएको छ । साथै अत्यावश्यक कामका लागि सवारी साधनको पास लिनको लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिने ब्यबस्था मिलाइएको छ । सार्वजनिक सवारी साधनलाई एकहप्ताको लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

    अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बढीमा दुई जना बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई जिल्ला भित्र प्रवेश गर्न रोक लगाइएको छ । तर, अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुग्धजन्य पद्धार्थ, बैंक, वित्तीय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवालाई सञ्चालन गर्न दिइएको छ ।

    सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रदायक संस्थाका कर्मचारीहरुलाई सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिएर सवारी साधन प्रयो गर्न पाउने जारी आदेशमा उल्लेख गरिएको छ । विदेश जाने यात्रुहरुलाई हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई एयरपोर्टसम्म जान दिइएको छ ।खाद्य सामग्रीहरु, औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल तथा व्यवसायलाई बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला गर्न दिइएको छ । डिपार्टमेन्ट स्टोरको हकमा पनि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला गर्न दिइएको छ ।

    उपत्यका भित्र अत्यावश्यक बाहेकका पसलहरु बन्द गरिएका छन् । विभिन्न चोकहरुमा प्रहरीले चेकिङ पनि गरिरहेको छ ।काठमाडौं उपत्यकाबाहेक देशका विभिन्न १६ जिल्लाहरुमा पनि आजदेखि निषेधाज्ञा गरिएको छ ।

4565