• प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क अर्थात कन्ट्याक्ट ट्रेसिङमा आएकाछन् । मंगलबार ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेकाहुन ।

    मंगलबार बिहान ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको थियो भने नेता रिजालले साँझ आफूलाई संक्रमण भएको जानकारी दिएकाहुन । रायमाझी र रिजाल आइतबार बालुवाटारमा भएको नेकपा एमालेको १४औं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका थिए । सोही बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।

    बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग विना मास्क तस्वीर समेत खिचाएका थिए जुन सामाजीक सञ्जालमा भाईरल बनेको छ । तस्वीर आएपछि रिजालसहित अन्य नेताहरूको आलोचना भएको थियो । प्रेस सल्लाहकार भएकाले थापा प्रधानमन्त्रीको प्रत्यक्ष सम्पर्कमा रहनु स्वभाविक भएकाले प्रधानमन्त्री कन्ट्याक्ट ट्रेसिङमा परेकाहुन ।

    प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गर्दा समेत प्रधानमन्त्री ओलीले भीड जम्मा गरिरहेका थिए । सूचना पछि पनि प्रधानमन्त्री निवासमा १ सयभन्दा बढी मानिस जम्मा भएर बैठक भइरहेको थियो भने सैयौं मानिस जम्मा पारेर धरहराको उद्घाटन गरिएको थियो ।

4565