• इटहरी । सेक्रेट हार्ट इङ्ग्लिस स्कुल, इटहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रम आयोजना गरेको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा एसईई उत्तीर्ण ३९ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।
    यस वर्षको एसईई परीक्षामा ४. जीपीए प्राप्त गर्न सफल विद्यार्थी अमुल्य निरौलालाई विद्यालयले नगद ५१ हजार रुपैयाँ सहित सम्मानपत्रले विशेष सम्मान गरेको छ ।
    उत्कृष्ट उपलब्धि हासिल गरेको भन्दै विद्यालयले उनको मेहनत, लगनशीलता र अनुशासनको उच्च प्रशंसा गरेको थियो। साथै अन्य ३८ जना उत्कृष्ट विद्यार्थीलाई पनि सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै आगामी शैक्षिक यात्राका लागि हौसला दिइएको विद्यालयले जनाएको छ।
    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवप्रसाद गुरागाईंले विद्यार्थीको सफलता विद्यालय, अभिभावक र शिक्षकको साझा मेहनतको परिणाम भएको बताए ।

    उनले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूको मेहनत, अनुशासन र शैक्षिक उत्कृष्टताको कदर गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।
    कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले विद्यार्थीको उपलब्धिलाई सम्मान गर्दै प्रोत्साहन गरेकोमा खुसी व्यक्त गरेका थिए। उनीहरूले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र शिक्षकहरूको समर्पणले उत्कृष्ट नतिजा सम्भव भएको धारणा राखे।
    सम्मान समारोहलाई विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति, नृत्य तथा गीतमार्फत थप उत्साहपूर्ण बनाएका थिए।

    कार्यक्रममा विद्यालयका प्रोग्राम कोअर्डिनेटर नरेश कुमार मिश्रले कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको उपलब्धिको सम्मान गर्नुका साथै आगामी पुस्तालाई उत्कृष्टताको प्रेरणा दिनु रहेको जानकारी दिए।
    कार्यक्रममा सेक्रेट हार्ट इङ्ग्लिस स्कुलका प्रिन्सिपल डिक कुमार तामाङ, भाइस प्रिन्सिपल अग्नीप्रसाद न्यौपाने, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल शैक्षिक तथा व्यावसायिक भविष्यको शुभकामना व्यक्त गरेको छ ।

4565