• इटहरी । विश्वप्रसिद्ध दुईपाङ्ग्रे सवारी साधन निर्माता यामाहाको ७१औँ वार्षिकोत्सव तथा यामाहा डे–२०२६ को अवसरमा इटहरी स्थित तिरुपति अटो सिटी यामाहा शोरुमले रक्तदान कार्यक्रम आयोजना गरेको छ।
    सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अटो व्यवसायी, यामाहाका ग्राहक तथा स्थानीय युवाहरूले रगत दान गरेका थिए ।
    तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले यामाहाको ७१औँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा सीमित नराखी समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदानले बिरामीको जीवन बचाउन सहयोग पुग्ने भएकाले यस्ता मानवीय अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

    नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, धरानको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, अटो व्यवसायी तथा सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

    कार्यक्रममा सहभागीहरूले रक्तदान जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए। संकलित रगत आपत्कालीन अवस्था तथा उपचाररत बिरामीहरूको जीवनरक्षाका लागि उपयोग हुने विश्वास व्यक्त गरिएको छ।

    यामाहाको ७१औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस सामाजिक अभियानले व्यवसायसँगै सामाजिक सेवामा पनि तिरुपति अटो सिटीको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्। व्यवसायिक सफलतासँगै समाजप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आयोजना गरिएको रक्तदान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको छ।

4565