• इटहरी । इटहरी–४ मा रहेको सिवि आवासीय माध्यमिक विद्यालयले वार्षिक रूपमा सञ्चालन गर्दै आएको खेलकुद सप्ताह यस वर्ष पनि भव्य रूपमा सुरु गरेको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेलकुद सप्ताहमा कक्षा पीजीदेखि कक्षा १० सम्म अध्ययनरत करिब ५ सय विद्यार्थीबीच विभिन्न खेलका प्रतिस्पर्धा गराइने विद्यालयले जनाएको छ ।
    खेलकुद सप्ताहको उद्घाटन अवसरमा विद्यार्थीहरूले सिवि रन तथा आकर्षक मार्चपास प्रस्तुत गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देशबन्धू कार्कीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् भने विद्यालयका प्रिन्सिपल खेमराज बास्तोलाले सिवि रन कार्यक्रमको उद्घाटन गरेका थिए ।

    उद्घाटन समारोहमा बोल्दै प्रिन्सिपल बास्तोलाले शैक्षिक अध्ययनसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा खेलको महत्वका विषयमा ज्ञान दिदै खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धी भावना विकास हुने भन्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    त्यस्तै, व्यवस्थापन समितिका अध्यक्ष देशबन्धू कार्कीले विद्यालयले पठनपाठनसँगै खेलकुदलाई पनि समान महत्व दिँदै आएको उल्लेख गरे। उनले विद्यार्थीहरूलाई स्वस्थ, सक्षम र आत्मविश्वासी बनाउने लक्ष्यसहित खेलकुद सप्ताहलाई निरन्तरता दिइएको बताए।

    एक हप्तासम्म सञ्चालन हुने खेलकुद सप्ताहअन्तर्गत फुटबल, भलिबल, चेस, टेबल टेनिस, ब्याडमिन्टनलगायतका विभिन्न खेलहरू समावेश गरिएको छ। सबै खेलहरूमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहने विद्यालयको विश्वास छ ।
    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने आधारमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयले जानकारी दिएको छ ।

    विद्यालय प्रशासनले खेलकुद सप्ताहले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै समग्र व्यक्तित्व विकासमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरेको छ ।

4565