• कालिकोटमा फेन्सी पसल चलाउँदै आएका कृष्ण हमालको सुर्खेतमा मृत्यु भएको घटनाको छानवीन गर्न समिति गठन गरिएको छ । मृतकको आफन्तसहित बसेको स्थानीय प्रशासनको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय गरेको हो ।

    समितिलाई तीन दिनभित्र सत्यतथ्य प्रतिवेदन पेश गर्न भनिएको छ । नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा हमालसहित ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित भएका हुन् । आक्रोशित प्रदर्शनकारीले प्रहरी कार्यालयसमेत तोडफोड गरेका छन् ।

    परिवार, आफन्तसहित आन्दोलनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । सुर्खेतको सुब्बा कुनाबाट प्रहरीले नियन्त्रणमा लिएका हमाललाई मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । तर स्थानीयले शवमा नील डाम देखिएको भन्दै प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालले भने यस घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

4565