• एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले बैठकमै एकअर्काको आलोचना गरेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले एमसीसीको बचाउ गरेका थिए भने श्रेष्ठले चर्को आलोचना गरे ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयका बारेमा प्रष्टीकरण दिएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि आफूहरु एमसीसीको पक्षमा लागेको स्पष्टिकरण दिएका थिए ।

    दाहालले गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति जुटाइएको स्पष्टिकरण दिएका थिए । एमालेले एमसीसीलाई गठबन्धन भत्काउने हतियारका रुपमा प्रयोग गर्न खोजेको र प्रधानमन्त्री देउवा पनि त्यतै ढल्किन खोजेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको बताए ।

    दाहालले व्याख्यात्मक घोषणा सहितको एमसीसी नै लागू हुने भन्दै सबैलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । एमाले र काँग्रेस मिल्दा सभामुखको पद समेत जोगिन नसक्ने अवस्था रहेकाले पार्टीले पेश गर्न दिने नीति लिएको दाहालको भनाइ थियो । काँग्रेस र एमाले मिलेर माओवादीलाई केन्द्र र प्रदेश सरकारबाट हटाउने सम्मको योजना भएको पनि दाहालले खुलाशा गरे ।

    उता बैठकमा बोलेका नेता नारायणकाजी श्रेष्ठले भने अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका थिए । उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष दाहालले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तुष्टि पोखेका थिए ।

    उनले पार्र्टी अध्यक्ष दाहालसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको र पार्टी पनि गम्भीर अवस्थामा पुगेको बताएका थिए । दुई जना नेताले सम्बोधन गरेपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

4565