• घरेलु राजनीतिमा त्यत्ति चासो नराख्ने चीन पछिल्लो समय भने निकै आक्रमक बनेको छ, विशेष गरी संघीय निर्वाचनपछि बनेको ओली सरकारको पालादेखि नेपाल चासोमा उसको सक्रियता बढेको हो । पछिल्लो समय विवादित एमसीसी कै विषयमा नेतृत्वको ढुलमुले नीतिले आन्तरिक राजनीतिमा चीनको सक्रियता अस्वभाविकरुपमा बढेको छ।

    एमसीसी कै विषयले मुलक विभाजित रहेको बेला चिनियाँ सक्रियता यति धेरै बढेको छकी, सम्भवतः उसको पछिल्लो पहिलो नै हुन सक्छ । एमसीसीकै कारण अमेरिकासंग वाक युद्ध गरिहेको चीन एमसीसी नेपालले अनुमोदन नगरोस् भन्ने रणनीतिमा छ, । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चिनयिङले नेपालसँग गरिएको एमसीसी सम्झौता कस्तो उपहार हो भनी प्रश्न गरेकी थिइन् । उनले एकातिर उपहार पनि भन्ने तर अल्टिमेटम पनि दिने भन्ने विषय आश्चर्य रहेको उनको टिप्पणी थियो । चीनले एमसीसी सम्झौता प्याण्डोराज बक्स हो या उपहार भन्ने प्रश्न गर्नुले चीन कति धेरै सशंकित छ,भन्ने प्रष्ट हुन्छ ।

    नेपालको आर्थिक, सामाजिक विकासमा सहयोग गर्न चीन सधैं तत्पर रहेको बताउँदै एमसीसी अनुमोदन गर्ने या नगर्ने नेपाल सार्वभौम भएकोले अमेरिकी दबाब अस्वभाविक भएको उसले बताएको थियो । विवादित एमसीसीमा थप संशकित बनेको चीनले यसको विपक्ष जनमत बढाउन पनि नेतृत्व तहमा दबाब दिदै आएको छ।

    विशेष गरी नेपालका कम्युनिष्टहरुलाई एकैथलोमा उभ्याउन कसरत गर्दै आएको चीनको प्रयास सार्थक त बन्न सकेको छैन,तर विभाजित कम्युनिष्ट नेताहरुसंगको बाक्लिएको उसको सम्वादले चीनको सक्रियतालाई चानचुने मान्न नसकिएला । महाशक्ति राष्ट्र बन्ने होडमा कुदिरहेको चीन छिमेक प्रभावमा दक्खल मात्रै राख्न खोजेको छैन, एमसीसी परियोजनाकै कारण हुने सक्ने सम्भावित खतराको नजिकैबाट आंकलन गरिरहेको छ।

    नेपाल मामलामा चीन या अमेरिका जसले जे जति चासो बढाएका छन्। ती चासोहरु अस्वभाविक नै हुन् । कुनैपनि सार्वभौम मुलुकका लागि यी अस्वभाविक चासाले मुलुक हितमा कदापि होइनन् । तर, यस्ता अस्वभाविक चासो बढ्ने वातावरणको कारण भने यी दलका नेताहरु नै हुन् । राष्ट्रिय महत्वको विषयमा विभाजित नेतृत्वकै कारण शक्ति राष्ट्रहरुको सक्रियता बढेको हो । एमसीसीको विषयलाई साझा निष्कर्षबाट निकास दिन अझै ढिलाइ गर्ने हो,भने मुलुक अझै अप्ठ्योमा पर्न सक्छ,यसर्थ नेतृत्वको बेलैमा चेत खुलोस् ।

4565