• नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।

    ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रनमा समेटियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । युएईका लागि मुहमद वासिमले सर्वाधि ७०, भृत्य अरबिन्दले ४६, मुहमद उस्मानले १७ रन जोडे । जवार फारिदले ११, रोहन मुस्तफाले अविजित ९ र अहमेद राजाले अविजित ६ रन बनाए ।

    नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३÷३ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए । नेपाललाई हराउँदै ग्लोबल छनोटको फाइनलमा प्रवेश गरेको युएई विश्वकपमा पनि छनोट भएको छ । युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

4565