• मुलुक यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा छ,जनअधिकार र स्वतन्त्रताको लागि ७२ वर्ष अघि यो मुलुकमा प्रजातन्त्र आयो ।२००७ सालको प्रजातन्त्रको जगमा मुलुकमा गणतन्त्र आएपनि भुइमान्छेहरुको दैनिकी उन्नाइसबाट बीस भएन ।

    प्रजातन्त्र त्यो हो, जसले सत्ताको पहुँचबाट बाहिस्कृत गरिएकाहरुलाई राज्यको मुलधारमा पुराउन मात्रै होइन, राज्यप्रतिको अपनत्व गराउनु पनि हो । तर, नेपालमा प्रजातन्त्र आएको ७२ वर्ष पूरा भएपनि भुइमान्छेहरुको दैलोमा प्रजातन्त्र पुगेन । मुलुकमा धेरै पटक राजनीतिक परिवर्तन भयो,बहुदल आयो,लोकतान्त्रिक गणतन्त्र आयो ,तर,तल्लो तहमा प्रजातन्त्रलाई पुग्न दिइएन ।

    २००७ सालमा प्रजातन्त्रको स्थापना भएपनि भुइमान्छेका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात झै भयो । जहानियाँ राणा शासन विरुद्ध चार योद्धाहरुले मुलुकमा प्रजातन्त्रको खातिर जे जति कुर्बानी गरे, धर्मभक्त माथेमा, शुक्रशास्त्री,गंगालाल श्रेष्ठ र दशरथ चन्दले त्यो कुर्बानी जन अधिकार र स्वतन्त्रताको लागि गरेका थिए । यद्यपि उनीहरुको जे जति बलिदानी भएपनि त्यो बलिदानीको मर्म र भावना तल्लो तहसम्म पुगेन र पुग्न पनि दिइएन । बरु, उनै शक्तिमानहरु सत्ताको वरिपरि रहदै आए र आइरहेका छन्। राजनीतिको भ¥याङ चढेर राज्य श्रोतको दोहन मात्रै गरेनन् महल ठड्याए, पजेरो कुदाए ।

    मुलुक बदल्ने संकल्पसहित ती शहीदहरु शालिक भए, शालिक पनि हुन अयोग्यहरु यो देशका मालिक भए । अयोग्यहरुको हातमा सत्ताको चाबी जब पुग्यो, तबदेखि बलिदानीको मर्म र भावनामाथि धोका हुँदै आयो। कांग्रेस संस्थापक नेता विपी कोइरालाले भनेका थिए, प्रजातन्त्रमा सुकिलामुकिला हाबी भए, प्रजातन्त्रको मर्म रहदैन। हो, विपीले भने झै उनै सुकिलामुकिलाहरुले सत्तामा दक्खल राखे ।

    प्रजातन्त्रको स्थापनादेखिका जो जो शक्तिमा थिए, उनैहरु गणतन्त्रमा पनि सत्ताकै वरिपरि छन् । सत्ता,शक्ति र सम्पत्तीमा उनीहरुको प्रभाव उत्तिकै छ। रुपमा मुलुकको राजनीतिक प्रणाली र संरचनामा परिवर्तन त आयो । तर, सारमा उही सामन्ती सोच, चिन्तन र कुशासन ज्यूँको त्यूँउ रह्यो ।जसले गर्दा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइएपनि आधारभूत जनताको दैनिकीमा उन्नाईसबाट बीस पटक्कै भएन, जनताकै लागि भनिएको प्रजातन्त्रले जनताकै जीवन परिवर्तन नगरेपछि भुइमान्छेका लागि कर्मकाण्डी प्रजातन्त्र दिवस हर्ष न विस्मात झै भयो ।

4565