• त्रिभुवन विश्वविद्यालयमा यो वर्ष मात्रै विभिन्न समुहले पटक–पटक गरी ३ महिनाभन्दा बढी तालाबन्दी गरेका छन् । गत माघ ६ गतेदेखि हालसम्म विद्यार्थीहरु र गत हप्तादेखि आंशिक शिक्षकले तालबन्दी गर्दा त्रिविको कामकाज प्रभावित भएको छ ।

    उच्चशिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालको उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टारको कार्यालय तथा मानविकी, शिक्षा र विज्ञान संकायमा लामो समयदेखि ताला लागेको छ । तालाबन्दीका कारण प्राज्ञिक परिषद्, योजना निर्देशनालय, आर्थिक प्रशासन, कर्मचारी प्रशासन, अनुगमन निर्देशनालय लगायतका काम ठप्प भएको छ । आन्दोलनरत पक्षले उठाएका माग सम्बोधनका लागि विभिन्न वार्ता समिति गठन भएपनि आन्दोलनरत पक्ष सहमतिमा नआएको त्रिविको भनाइ छ ।

    मुलुकको ७६ जिल्लामा फैलिएको र ८० प्रतिशत शैक्षिक भार बोकेको विश्वविद्यालयमा आंशिक प्राध्यापक र विद्यार्थीहरुले महिनौसम्म तालाबन्दी गर्दा ठूलो क्षति भएको छ । आंशिक प्राध्यापक संघले २ हजार २ सय आंशिक प्राध्यापकहरुलाई स्थायी गनुपर्ने लगायतका माग राख्दै र विद्यार्थी संगठनहरुले घुस नपाउँदा सम्बन्धन खारेज गरेको लगायतका आरोप लगाउदै तालाबन्दी गरेका हुन् ।

    शैक्षिक संस्थालाई शान्ति क्षेत्र मानेर सरकारले नै बन्द हड्ताल निषेध गरेको अवस्थामा विश्वविद्यालयमा विभिन्न माग राख्दै हुने आन्दोलनले कसैलाई पनि फाइदा पुग्ने देखिदैन । तसर्थ कुनै पनि समस्या आन्दोलनमार्फत नभई वार्ता र संवादको नाममा हल गर्न सबै सरोकार पक्ष गभ्भीर हुन जरुरी छ ।

4565