• पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको छ । साँझ पौने ८ बजे स्थानीय झरेन्द्र खतिवडाको घरबाट सुरु भएको आगलागी एक घण्टापछि नियन्त्रणमा आएको हो ।आगलागीका कारण खतिवडाको घर र इलेक्ट्रोनिक पसलसहित घरभित्रका अधिकांश सामग्री जलेर नष्ट भएका छन् । यद्यपि आगलागी के कारणले भएको हो त्यसबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख राकेश थापाले जानकारी दिए ।

    आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका हुन् । काठपात र टिनको छानो भएको घर जलेर खरानी भए पनि छिमेकमा रहेको पक्की घरले छेक्दा बजारका अन्य घरमा आगो फैलन नपाएको स्थानीयले बताएका छन् ।आगो नियन्त्रणका लागि सदरमुकामबाट हिँडेका २ वटा दमकलसहित प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुग्नुअघि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।


    सदरमुकामबाट गएका थप मद्दतसहितका दमकल पनि यासोक बजार पुगिसकेको बताइएको छ । साँझको समयमा आगलागी सुरु भएलगत्तै स्थानीयहरू भेला भएकाले आगो नियन्त्रणमा लिन केही सहज भएको थियो ।

4565