• सत्ता साझेदार दलहरुले एकै पटक तीन तहको निर्वाचन गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग अध्यक्ष दिनेश थपलिया र सत्तारुढ दलका शिर्ष नेताहरुविच छलफल भएको हो ।

    छलफलमा सत्ता गठबन्धनका नेताहरुले आउँदो कात्तिक–मंसिरमा तीन तहकै चुनाव एकसाथ गर्ने विकल्पका विषयमा कुराकानी गरेको बताइएको छ । निर्वाचन आयोगले भने संबैधानिक सीमा अनुसार बैशाखमा स्थानीय निर्वाचन गर्नुपर्ने भन्दै त्यसका लागि माघ दश गतेसम्ममा मिति घोषणा हुनुपर्ने जानकारी दलका नेताहरुलाई गराएको छ । आयोग पदाधिकारीले छिट्टै निर्वाचन मिति घोषणा नभए बैशाखमा स्थानीय निर्वाचन गर्न सम्भव नहुने जानकारी समेत गराएका छन ।

    निर्वाचनका लागि कम्तिमा एक सय दिन चाहिने आयोग पदाधिकारीको भनाइ छ । सरकार सञ्चालनका लागि सत्तारुढ दलले गठन गरेको उच्चस्तरीय संयन्त्रको सिफारिस अनुसार नेताहरुले आयोग पदाधिकारीसँग छलफल गरेका हुन । आयोग पदाधिकारीसँगको परामर्शपछि शीर्ष नेताले कानुनमन्त्री दीलेन्द्र बढुसँग पनि छलफल गरेका छन ।

    निर्वाचनका लागि केही निर्वाचन कानुन संसोधन गर्नुपर्ने देखिएकाले कानुनमन्त्रीसँग शीर्ष नेताले छलफल गरेका हुन । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेता सहभागी थिए । ्

4565