• प्रमुख दलका प्रमुख नेताहरु कोरोना संक्रमणको जोखिममा परेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना भाइरस संक्रमण भएपछि अन्य दलका नेताहरु पनि कोरोनाको जोखिममा परेका हुन् । दाहालसँग बारम्बार बैठक गरेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि एकसाता आइसोलेसनमा बसेका छन् ।

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देउवाले अत्यावश्यक बाहेकका भेटघाट एक सातालाई बन्द गरेका छन । प्रधानमन्त्रीको पीसीआर परीक्षण आइतबार हुने बताइएको छ । दुई दिनअघि बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा दाहालसहित देउवा सहभागी थिए ।

    दाहालसँग उक्त बैठकमा सहभागी सत्तारुढ दलका १० जनाभन्दा बढी नेतालाई स्वास्थ्य मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङमा राखेको छ । त्यस्तै आइसोलेशनमा बस्नु अघि शनिबार बिहान मात्र प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग करिब एक घण्टा वार्ता गरेका थिए ।

    दाहालसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादवसहित माओवादीका १० जनाभन्दा बढी नेता संक्रमित भएका छन् । एकपछि अर्को नेताहरुमा संक्रमण देखिन थालेपछि माओवादीले आफ्नो केन्द्रीय कार्यालय यस अघि बन्द गरिसकेको छ ।

4565