• भागबण्डा नमाग्ने र गुट पनि नबनाउने घोषणा गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बुधबार आफू पक्षीय नेताहरुको बैठक राखेका छन् । सिंहदरबार अगाडि रहेको एक होटलमा भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल लगायतका नेता सहभागि थिए । बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले देउवाले विधि, सिद्धान्त र नीतिलाई मिचेर अघि बढेकाले पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी दिए । देउवाले आफू इतरका नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउन थालेको भन्दै कोइरालाले त्यसविरुद्ध डटेर आवाज उठाउनुको विकल्प नरहेको पनि उल्लेख गरे ।

    बैठकमा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट केन्द्र तथा प्रदेशमा उम्मेदवार बनेका नेताहरु सहभागी भएका थिए । बैठकमा गत महाधिवेशनको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल भएको थियो । त्यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल भएको थियो । पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कोइराला देउवासँग पराजित भएका थिए । यसअघि कोइरालाले आफूले काँग्रेसमा गुटको राजनीति नगर्ने बताएपनि बुधबारका लागि गुटको बैठक बोलाएका हुन् ।

4565