• नेपालगञ्जस्थित भेरी अस्पतालको क्वार्टरमा निस्सासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । कार्यालय सहयोगीको क्वाटरमा विहान अबेरसम्म पनि ढोका नखुलेपछि हेर्दा सुतेका ७ जनामध्ये ४ जना मृत भेटिएका हुन । तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो ।

    घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो । श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएका छन । बेहोस अवस्थाका तीन जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ ।

    कोठा तातो बनाउन कोइला बालेर सुतेका कारण अक्सिजन कमी भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

4565