• नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ गरेको छ ।

    मंगलबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ । सीआईबी प्रमुख धिरजप्रताप सिंहले सुवेदी दम्पति पक्राउ परेको र म्याद थपका लागि अदालतमा पेश भएको स्वीकारे ।

    मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ । नक्कली कागजातका भरमा सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको र नक्कली मोही खडा गरेर जग्गा हत्याएको आरोपमा सुवेदीलाई सीआईबीले पक्राउ गरेको हो ।

    उनीसँगै योजनाकार मानिएका शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशपछि थुनामा छन् । सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएपछि अदालतमा हाजिर नभएका उनी लुक्दै हिडेका थिए । शोभाकान्त ढकाल विशेष अदालतमा हाजिर भएपछि आफू समेत हाजिर हुने र धरौटीमा छुट्ने योजनामा रहेका उनी ढकालको थुना अवधि लम्बिएपछि अदालतमा हाजिर भएका थिएनन् ।

4565