• आजदेखि बाघ गणना सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रबाट बाघ गणना सुरु भएको हो । बाघ गणनामा सरकार र सहयोगी संस्थाको तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

    बाघ पाइने पाँच वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर गणना हुन लागेको हो । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना थालिएको हो । गणनाका क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामरा राखिने विभागले जनाएको छ ।

    क्यामरामा कैद भएका बाघको तस्बिर हेरेर त्यो क्षेत्रमा कति बाघ छन् भनेर थाहा हुनेछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या २ सय ५० को हाराहारी पु¥याउने घोषणा गरेको थियो । अघिल्लो गणना अनुसार नेपालमा अहिले २ सय ३५ वटा बाघ रहेका छन ।

4565