• रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारमा बनेको ‘महाकरुणा बुद्धमूर्ति’ अनावरण गरिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलको प्रवेशद्वारामा उक्त बुद्ध मूर्तिको अनावरण गरेकी हुन् ।

    साढे २ अर्ब मूल्यको बुद्धमूर्तिको तौल एक हजार आठ सय किलो तथा उचाइ १ दशमलव ९ मिटर र चौडाइ ६० सेन्टिमिटर रहेको छ । बहुमुल्य धातु ‘ह्वाइट जेड’बाट बनेको उक्त मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

    बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजना समेत रहेको विमानस्थलमा महाकरुणा बुद्ध मूर्ति राखिनुले यहाँबाट विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलिने विश्वास व्यक्त गरिन् ।

    यस अघि आजै राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घघाटन गरेकी थिइन् । नेपाल परम्परागत बौद्धधर्म संघले बिहारका लागि अहिलेसम्म करिब १६ करोड खर्च भैसकेको र निर्माण सम्पन्न गर्न २० करोडको लगानी हुने बताएको छ । काठमाण्डौ महानगरपालिकाको चार करोड २९ लाख १८ हजार रुपयाँ सहयोग गरेको छ ।

4565