• प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन् । बिहीबार सुदरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन् । देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि जिल्लाका जनप्रतिनिधिहरू तथा सरकारी अधिकारीलाई निर्देशन दिए ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित स्थानहरूको स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बझाङ र डोटीमा प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका जनप्रतिनिधि, जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलक प्रमुख, उद्योग वाणिज्य संघ, रेडक्रसका प्रमुखसंग भेटेर समग्र जिल्लामा बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।

    यस्तै प्रधानमन्त्रीको टोलीले कञ्चनपुरको ब्रह्मदेव, दोधाराचाँदनी लगायतका स्थानहरूको निरीक्षण गरेको छ । त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी तथा डुबानले पु¥याएको क्षति, उद्धार तथा राहत कार्य, पीडित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिए ।

    त्यस्तै देउवाले गृहजिल्ला डडेलधुरको अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरोले पु¥याएको क्षतिबारे जानकारी लिएका थिए । जनप्रतिनिधिसँग जानकारी लिएपछि उनी जिल्लाकै भित्रीमधेसमा पर्ने जोगबुढाको अवस्था अवलोकन गर्दै कञ्चनपुर गएका थिए ।

    प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहेका छन् । प्रधानमन्त्री सहितको टोलीले कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै सुदरपश्चिमका विभिन्न स्थानमा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकत गरेका थिए ।

    आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भएको छ भने २४ जना अझै बेपत्ता छन् । यस्तै, बाढी पहिरोमा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

4565