• आइतबारदेखि आएको अबिरल बर्षाका खसेको पहिरोमा च्यापिएर बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँका धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र धनराज जोशीकोे पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटर लगाएर निकालिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका डियसपी रुपक खड्काले छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको बताए । यस्तै खप्तड छान्ना गाउपालिका ७ तिखाढुङगाका राम बहादुर सिंह, मान बहादुर सिंह, मंगल बहादुर सिंह, दल बहादुर सिंह र हस्त बहादुर सिंहका सबै परिवार बिस्थापित भई आफन्तका घर बसोबास गर्दै आएका छन ।

    यसैबीच बझाङको थलारामा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ । हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ । सो टोलीले घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो ।

    शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्काे एक जनाको सनाखत हुन बाँकी छ । अहिले पानी पर्न कम भएकाले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।

4565