• नेकपा एमालेले आफ्नो दशौं महाधिवेशन बुटवलमा गर्ने भएको छ । आइतबार प्रथम विधान महाधिवेशनको समापन सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका हुन् ।

    एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय भएको छ । यसअघि एमालेले आठौं महाधिवेशन पनि बुटवलमै गरेको थियो । एमालेले आसन्न महाधिवेशनका लागि डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग घोषणा गरेको छ । ओलीले १५ सदस्यीय आयोग प्रस्ताव गरेका थिए ।

    जसलाई विधान महाधिवेशनको हलले स्वीकृत गरेको छ । आयोगको सदस्यहरुमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला छन् ।

    यस्तै सुदूरपश्चिमबाट केवालाल चौधरी, लुम्बिनीबाट विमला विश्वकर्मा, गण्डकीबाट लोकबहादुर थापा र बागमतीबाट हिमकला गैरे आयोगको सदस्य छन् । यसैबीच, एमाले अध्यक्ष ओलीले तीन नारा लगाउदै तीन दिनसम्म चलेको विधान महाधिवेशन सम्पन्न भएको घोषणा गरेका छन् ।

    उनले समापन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको एकता अमर रहोस्, अमर सहिदहरु लाल सलाम र नेकपा एमाले जिन्दावादको नारा लगाएका थिए । गोदावरीमा भएको विधान महाधिवेशनमा देशभरबाट एमाले नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।

4565