माइती नेपालमा आश्रित महिलालाई सीप र आत्मनिर्भरताको आधार, नेल आर्ट–मेकअप तथा उद्यमशीलता तालिम सम्पन्न
-
इटहरी । संरक्षण र पुनःस्थापनाको प्रक्रियामा रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको नेल आर्ट, मेकअप तथा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ। माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहमा बसेका महिलाहरूलाई लक्षित गर्दै घरेलु तथा साना उद्योग कार्यालय इटहरी ले आयोजना गरेको २१ दिने नेल आर्ट तथा मेकअप तालिम र ४ दिने उद्यमशीलता विकास तालिम एक कार्यक्रमका बीच समापन गरिएको हो।
तालिममा सुनसरी, मोरङ, पर्सा, भोजपुर, तेह्रथुम, धनकुटा तथा ओखलढुंगाका गरी १५ जना महिलाको सहभागिता रहेको थियो। विभिन्न कारणले संरक्षण गृहमा आश्रित बनेका महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने तथा आफ्नै जिल्लामा फर्किएपछि व्यवसाय सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
नेल आर्ट तथा मेकअपसम्बन्धी प्रशिक्षण ब्युटिसियन प्रशिक्षक नविना तबदार ले दिएकी थिइन् भने उद्यमशीलता विकाससम्बन्धी सहजीकरण घरेलु तथा साना उद्योग कार्यालयकी तालिम सहजकर्ता सरिता उराउ ले गरेकी थिइन्। तालिम अवधिभर सहभागीहरूलाई सौन्दर्य सेवासम्बन्धी व्यावहारिक ज्ञानका साथै व्यवसाय सञ्चालन, बजार व्यवस्थापन, ग्राहक सेवा, लगानी व्यवस्थापन तथा उद्यम विकासका विषयमा समेत प्रशिक्षण प्रदान गरिएको थियो।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रजन पाण्डे को अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइराला को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले सीप नै आत्मनिर्भरताको मुख्य आधार भएको उल्लेख गर्दै महिलाहरूले प्राप्त गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके आर्थिक रूपमा सक्षम बन्न कुनै कठिनाइ नहुने बताए। उनले महिलाहरूका लागि स्वरोजगार सिर्जना गर्ने सबैभन्दा प्रभावकारी माध्यम सीपमूलक तालिम भएकाले यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए।
माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहकी कार्यक्रम संयोजक सुनिता कार्की ले माइती नेपालको संरक्षणमा रहेका महिलाहरूका लागि यस्ता तालिम अत्यन्त उपयोगी रहेको बताइन्।उनले नेल आर्ट, मेकअप र उद्यमशीलता सम्बन्धी तालिमले महिलाहरूलाई दैनिक जीवनमा प्रयोग हुने सीप सिकाउनुका साथै आफ्नै जिल्लामा फर्किएपछि व्यवसाय सञ्चालन गरेर सम्मानजनक जीवनयापन गर्न प्रेरणा र आधार प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
News Desk 0 response बुधबार, जेष्ठ २०, २०८३
त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पाण्डेले राज्यले सीमित स्रोत र बजेटबाट सञ्चालन गर्ने यस्ता कार्यक्रमको वास्तविक उपलब्धि सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा लागू गर्दा मात्रै देखिने बताए। उनले तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गर्दै स्वरोजगार सिर्जना गर्न र राज्यको लगानीलाई परिणाममुखी बनाउन सहभागीहरूलाई आग्रह गरे।
तालिममा सहभागी महिलाहरूले पनि आफूहरूले नयाँ सीप सिक्न पाएको, आत्मविश्वास बढेको र आगामी दिनमा आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना बनाएको बताएका थिए। उनीहरूले यस्ता तालिमले जीवनलाई नयाँ दिशा दिएको उल्लेख गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए।
समापन कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयकी उद्योग अधिकृत विनिता भट्टराई, इटहरी उपमहानगरपालिकाकी अनिता थापा लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सीप, आत्मविश्वास र उद्यमशीलताको संयोजनमार्फत संरक्षण गृहमा रहेका महिलाहरूलाई सम्मानजनक र आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम सहभागीहरूका लागि नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ।
सम्बन्धित शीर्षकहरु
-
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३ -
ह्विलचेयर बास्केटबलमार्फत समावेशी समाजको सन्देश, इटहरी प्रथम
बुधबार, जेष्ठ २०, २०८३
-
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३ -
ह्विलचेयर बास्केटबलमार्फत समावेशी समाजको सन्देश, इटहरी प्रथम
बुधबार, जेष्ठ २०, २०८३
-
गणतन्त्र दिवसमा तालतलैयामा साहित्यिक तथा सांस्कृतिक उत्सव
शनिबार, जेष्ठ १६, २०८३ -
ह्विलचेयर बास्केटबलमार्फत समावेशी समाजको सन्देश, इटहरी प्रथम
बुधबार, जेष्ठ २०, २०८३ -
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३





