• राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिमराको सुरक्षास्थितिबारे केन्द्रित

    काठमाडौं । बाराको सिमरामा उत्पन्न भइरहेको संवेदनशील सुरक्षा परिस्थितिबीच राष्ट्रिय सुरक्षा परिषद् बैठक बसेको छ। सिंहदरबारस्थित सुरक्षा परिषद सचिवालयमा सुरु भएको बैठकबारे प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ।

    सिमरामा विगत दुई दिनदेखिको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै उच्चस्तरीय सुरक्षा मूल्यांकन र आवश्यक निर्णयका लागि बैठक बोलाइएको हो। विशेषगरी जेनजे युवाहरूले बुधबार विमानस्थल क्षेत्रमा गरेको तोडफोड, सडकमा भएका आगजनी तथा प्रदर्शनसँग सम्बन्धित घटनाको विस्तृत समीक्षा बैठकले गरिरहेको छ।

    यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो। तर स्थिति नियन्त्रणमा आउन कठिन भइरहेपछि आज पुनः प्रधानमन्त्रीस्तरीय छलफल आवश्यक परेको जिम्मेवार स्रोतले जनाएको छ।

    बुधबारको घटनापछि सिमरामा साँझ ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो। आज पुनः अवस्था उस्तै तनावग्रस्त भएपछि फेरि कर्फ्यू लगाइएको छ। स्थानीय प्रशासनले संवेदनशील क्षेत्रलाई पहिचान गर्दै सुरक्षा बल परिचालन थप कडा बनाएको छ।

    उक्त घटनाले मानवीय अधिकारमा असर पर्न सक्ने भन्दै राष्ट्रिय मानव अधिकार आयोगले पनि गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले शान्ति–सुरक्षा सुनिश्चित गर्न, तनाव नियन्त्रणका लागि आवश्यक संयम अपनाउन तथा नागरिकको सुरक्षा र अधिकारको रक्षा प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ।

    सुरक्षा परिषद्ले स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति व्यवस्थापनका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

4565