• सुनसरी । आज मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन देशभरका मठ–मन्दिर तथा धार्मिक स्थलहरूमा बालाचतुर्दशी पर्व धूमधामका साथ मनाइँदै छ। बालाचतुर्दशीको अवसरमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको असाधारण भीड लागेको छ। अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेका श्रद्धालुहरूले आज बिहान पितृ आत्माको सद्गतिको कामना गर्दै शतबीज अर्पण गरेका हुन् ।
    परम्परा अनुसार त्रयोदशीको बेलुकी अखण्ड महादीपदान गरी पितृका नाममा दीप प्रज्वलन गर्ने, भजन–कीर्तन गरी जाग्राम बस्ने तथा भोलिपल्ट चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिसाइएका सात प्रकारका अन्न मिलाएर शतबीज छर्ने चलन रहेको छ । यो विधिले पितृको मोक्ष, आत्मशान्ति तथा आफूले पाउने पुण्यको आकांक्षा राखेर गरिने धार्मिक कर्म मानिन्छ ।
    सुनसरीको बराहक्षेत्र, रामधुनी र झापाको अजुनधारा, शिवसतासीमा लगायतको धार्मिक स्थलहरुमा पनी विहानै देखि भक्तजनहरुको अत्यधिक भीड लागेको थियो ।
    शिवसतासीमा बिहानैदेखि शतबीज छर्न इटहरी बाट आएकी कौशल्या श्रेष्ठले बालाचतुर्दशीमा शतबीज छर्नु मात्र धार्मिक कर्म नभई पुस्तौँदेखि चलिआएको संस्कार जोगाइ राख्ने पनी शिवसतासी धाममा आउँदा मनमा छुट्टै शान्ति र पवित्रता अनुभव गर्दै पितृको सम्झनामा गरिएको यो कर्मले परिवारमा शान्ति र समृद्धि आउने बताइन ।

    त्यस्तै, मोरङको सुन्दरहरैंचा–५ स्थित नयाँ विंदावन गौशालामा पनि रातभर दीप प्रज्वलन गरी जाग्राम बसेका भक्तजनहरूले आज बिहान ठूलो संख्यामा शतबीज अर्पण गरेका छन्। गौशालाका संरक्षक महामण्डलेश्वर दिनबन्धु शास्त्रीका अनुसार हजारौँ भक्तजन बिहानैदेखि दर्शन तथा शतबीज छर्न आएका थिए । यस वर्ष पहिलो पटक इटहरी–२ मा स्थापना गरिएको १०८ शिवलिङ्ग परिसरमा पनि भक्तजनको उल्लेखनीय उपस्थिति रहेको छ।

    त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलका अनुसार बालाचतुर्दशी परेका कारण परिसरमा बिहानदेखि नै भक्तजनहरूको निरन्तर आवागमन जारी छ र धेरैले शतबीज चढाएर पितृ सम्झना गरेका छन ्।
    देशभरका तीर्थस्थलहरूमा पनि आज बालाचतुर्दशीको विशेष रौनक देखिएको छ ।

    पशुपतिनाथ क्षेत्रमा देश–विदेशबाट आएका श्रद्धालुको ठूलो घुइँचो छ, जहाँ मार्गशीर्ष कृष्ण त्रयोदशीकै बिहानदेखि भक्तजनहरूको भीड लाग्ने परम्परा छ । डोलेश्वर महादेव, ज्योतिर्लिङ्गेश्वर, गोकुलधाम तथा चितवनको देवघाट क्षेत्रमा पनि आज बिहानै शतबीज छरेर भक्तजनहरूले आस्था प्रकट गरेका छन् ।
    धार्मिक परम्परा, पितृप्रतिको श्रद्धा र संस्कृतिको संरक्षणका रूपमा हेरिने बालाचतुर्दशी आज देशभर श्रद्धा, भक्ति र आस्थाको वातावरणमा मनाएको छ ।

4565