• प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिउँसो एक बजे नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली प्रस्थान गर्नुअघि देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाई गरेको थियो ।

    प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटासहित मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए । उनी नयाँ दिल्ली पुगेर चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् । प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री देउवा आजै साँझ सत्तारुढ भारतीय जनता पार्टी ‘भाजपा’को नयाँ दिल्लीस्थित मुख्यालय पुग्ने छन । भाजपा मुख्यालयमा देउवालाई सो पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले स्वागत गर्ने कार्यक्रम छ । सो क्रममा देउवा र नड्डा सहित भाजपा नेताहरुबीच भेटवार्ता हुनेछ । भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् ।

    दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् । देउवाले समकक्षी मोदीसँग शनिवार विहान ११ बजेर १० मिनेटमा नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटघाट गर्नेछन् । भेटलगत्तै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । शनिवार १२ बजेर १५ मिनेट जाँदा देउवा र मोदीले हैदराबाद हाउसमै संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

4565