• प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा मुख्य ७ एजेण्डा तय भएका छन्। राजनीतिक तथा कूटनीतिक केन्द्रीत एजेण्डा बाहेक अरु पुरानै एजेण्डा हुन् । यस अघि नेपाल भारतबीच भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिने गरी दुईका प्रधानमन्त्रीबीच सम्वाद हुने भएको छ।


    १)सीमा विवाद
    नेपालले सन भारतबाट अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर २०७७ जेष्ठ ७ मा नयाँ नक्शा जारी गरेको थियो । भारतले लिपुलेकमा सडक विस्तार गरेपछि नेपालले संसदको सतप्रतिशत समर्थनमा तत्कालीन ओली सरकारले नयाँ नक्शा जारी गरेको थियो । त्यस यता यस विषयमा दुई देशबीच सम्वाद नभएपनि यस समस्यालाई दीगो समाधान खोज्ने प्रयास हुने छ।


    )पञ्चेश्वर बहुउदेश्यीय परियोजना
    नेपाल सरकार तथा भारत सरकार बीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा वि.सं. २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो । वि.सं. २०६६ मंसिर ९ मा नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो ।


    )इपीजी प्रतिवेदन
    नेपाल र भारतबीच रहेका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो ।इपीजीको दुई वर्षे समयावधि २० असार २०७५ मा सकिएको हो । २०७६ असारमा काठमाडौंमा बसेको इपिजीको अन्तिम बैठकले सुझावहरु समेटेर संयुक्त प्रतिवेदनलाई अन्तिम रूप दिएपनि भारतले प्रतिवेदन बुझेको छैन ।


    ४)माथिल्लो कर्णाली
    नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना अझै अलपत्र छ । भारतीय कम्पनीले दुई पटक समय थप्दा पनि लगानी जुटाउन नसक्दा अलपत्र छ। सन २०१४ मा आयोजना विकास सम्झौता भएको थियो । आयोजना विकास सम्झौता (पीडीए) मा हस्ताक्षर भएको यति धेरै वर्ष भएपनि भारतीय कम्पनी जीएमआरले लगानी जुटाउन सकेको छैन।


    ५)हुलाकी राजमार्गः
    हुलाकी राजमार्ग बनाउन सन् २००६ मा नेपाल–भारतबीच समझदारी भएको थियो। समझदारीअनुसार सरकारले छानेका यो सडकको डिजाइन, सुपरिवेक्षण र निर्माण तीन चरणमा पूरा गर्ने र यसको सम्पूर्ण खर्च भारतले बेहोर्ने सम्झौता गरेको थियो। तराईका २० जिल्ला जोड्ने लाइफलाइनको रुपमा हेरिएको हुलाकी राजमार्ग १४ सय ४० किलोमिटर लम्बाइको छ।


    ) रेल उदघाटन
    प्रधानमन्त्री शेरबहादुर देउवाले भारत पुगेर कुर्था–जयनगर रेल उद्घाटन भर्चुअल माध्यमबाट गर्ने भएका छन्। रेल्वे अध्यादेश जारी भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट यही चैत १९ गते रेलको उद्घाटन गर्ने कार्यक्रम छ।


    ७) राजनीतिक तथा कूटनीतिक केन्द्रीत
    भ्रमणको अवसरमा नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुको साथै दुई देश बीचको आशंका हटाउने अपेक्षा गरिएको छ। उच्चस्तरीय राजनीतिक भ्रमण भएकोले राजनीतिक तहमा कूटनीतिक सम्बन्धलाई सुदृढ बनाइने अपेक्षा छ। यसको साथै आर्थिक एजेण्डाहरु पनि छन् । व्यापार, उर्जा,पर्यटन र लगानीका विषयमा छलफल हुने भएको छ। विशेष गरी कोरोना महामारी पछिको भारत भ्रमण भएकोले परियोजनाहरु कार्यान्वयनमा समेत जोड दिइने भएको छ।

4565